चिकित्सा शिक्षा विधेयक पारित, अब डा केसीले के गर्लान् ?

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ ।  आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।  विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।  बैठकपछि काँग्रेस सांसद थापाले उदेकलाग्दो किसिमले विधेयक पास गरेको प्रतिकृया दिए । सभापति घर्तीले फरक मत राख्ने सांसदहरुले संसदमा पनि राख्न सक्ने प्रतिकृया दिएकी छन् ।

यसैवीच सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयन हुने सम्भावना घटेको छ ।  संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने बताएका थिए । उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो ।n यसअघि उपसमितिको प्रतिवेदनप्रति असहमति जनाउदै डा. गोविन्द केसीले अनसन बस्ने घोषणा गरेका थिए । तर, समिति सभापति घर्तीले संशोधन गर्न सकिने भन्दै केही दिन समय मागेपछि उनले आजसम्म अनसन स्थगन गरेका थिए । डा. केसी अनसनका लागि इलाम पुगिसेका छन् ।