काठमाडौं – गएको साउन १० गते बलात्कारपछि मारिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता नलागरिहेका बेला उनकी आमाले बुधबार डीएनए परीक्षणका लागि आफ्नो रगतको नमुना दिएकी छन् । निर्मलाको भेजिनल स्वाबबाट प्रहरीले संकलन गरेको डीएनए नमुनामाथि अविश्वास भइरहेका बेला आमाले छोरीको डीएनएसँग आफ्नो डीएनए म्याच गराउन रगतको नमुना दिएकी हुन् । कञ्चनपुर प्रहरी प्रमुख कुबेर कडायतले दुर्गादेवीको रगत डिएनए परीक्षणका लागि संकलन गरिएको पुष्टि गरे । उनले डीसीनेपालसँग भने, ‘हामी कहाँ उनी आएकी थिइन्, महाकाली अञ्चल अस्पतालबाट उनको रगतको नमुना संकलन गरिएको छ।’ निर्मला प्रकरणमा हालसम्म पक्राउ परेकाहरुको डीएनए परीक्षण गर्दा म्याच भएपछि धमाधम छुटेकाले प्रहरी पनि तनावमा छ भने पीडितहरुले प्रहरीले संकलन गरेको निर्मलाको डीएनए नमुना नै लगत भएको आशंका गरिरहेका छन् ।
अब दुर्गादेवीको डिएनए परीक्षणबाट प्रहरीले संकलन गरेको निर्मलाको डीएनएबारे भने स्पष्ट हुनेछ । किनकी आमा र छोरीको डिएनए म्याच हुन्छ । यदि दुर्गादेवीको डीएनए र प्रहरीले संकल गरेको निर्मलाको डीएनए म्याच भएन भने प्रहरीको कुर्तत खुल्नेछ भने यसले यो प्रकरणमा नयाँ मोड लिनेछ । तर, म्याच भयो भने हालसम्म विश्वास गुमाएको प्रहरीका लागि केही राहत हुनेछ । तर, दोषी पत्तालगाउन भने कुनै सहयोग हुने छैन । यो प्रकरणमा दर्जनौ मानिसको डीएनए परीक्षण भएको छ । यतिमात्र होइन तत्कालि कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र उनका छोराकोसमेत डीएनए परीक्षण गरिएको थियो । यो प्रकरणमा एसपी विष्ट र अर्का प्रहरी निरीक्षक जगदशि भट्ट सेवाबाट बर्खास्त भइसकेका छन् । तर, घटनाको ५ महिना पुग्दा पनि प्रहरीले कुनै सुराग फेला पार्न सकेको छैन । उल्टै विश्वास गुमाउँदै गएको छ ।












