काठमाडौं \ विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेका अर्का संयोजक उज्जवल थापा समूहलाई फर्केर आउन आग्रह गर्नु भएको छ । ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले वैकल्पिक पार्टी निमार्णका क्रममा आइपर्ने चुनौतीको सामना गर्दै संवाद मार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको हो । पार्टीको संगठन निर्माण लगायतका विषयमा आएको जटिलतालाई वार्ता मार्फत सम्बोधन गर्न सकिने मिश्रले बताउनुभयो । मिश्रले पार्टी एकलौटी ढंगले संचालन गर्न खोजेको भन्दै अर्का संयोजक थापा नेतृत्वले निर्वाचन आयोगमा हिजो छुट्टै दल दर्ताका लागि निवेदन दिएको थियो ।












