रंगशाला पुन: निर्माणको काम नसकिएपछि साग खेल प्रभावित हुने

प्रकाशित मिति:

देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो ।विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ । आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद साग सोही रङ्गशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ ।

रङ्गशाला लगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ ।