नवलपरासी/ पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ स्थित दुई घरमा विहिबार राति चोरी भएको छ । रातिको बेला घरमा कोही नभएको मौका छोपी दुई वटै घरबाट चोरी गरिएको तर चोर ब्यक्तिले गरेको की समुहले भन्ने कुरा अझै सम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख बुद्धि सागर पुरीले जानकारी दिनुभएको छ । घरमा कोही पनि नभएको थाहा पाएर विहिबार राति करिब साढे १० बजेको समयमा वडा नम्बर १ बासा बस्ने सिता पोखरेलको घरमा सुनचादी सहित नगद १० हजार चोरी भएको र त्यस लगत्तै सोही राति नै करिब साढे ११ बजेको समयमा सोही स्थानमा बस्ने बसन्ती पोखरेलको घरबाट सुन सहित नगद २० हजार चोरी भएको प्रहरी प्रमुख पुरीले जानकारी दिनुभएको छ ।
सो अवसरमा चोरी कसले र किन गरेको भन्ने कुरा आफुहरुलाई थापा नभएको र कसैमाथि चोरी गरेको आशंका पनि नरहेको पिडित सिता पोखरेल र बसन्ती पोखरेलले प्रहरीलाई जानकारी दिनुभएको छ । आफुहरु घरमा नभएको अवस्थामा घरमा भएका समानहरु चोरी भएको भन्दै पिडितहरुले घटनाका दोषीलाई पत्ता लगाई कार्यवाही गर्न र आफुहरुको चोरी भएको समान फिर्ता दिलाउन प्रहरी समक्ष आग्रह गर्नुभएको थियो । ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख पुरीले घटनाको अनुसन्धान भइरहेको जनाकारी दिनुभएको छ । सो घटनास्थल बासाबसही प्रहरी चौकी देखी एक सय मिटरको दुरीमा रहेको छ ।












