हरिश ढकाल /बुटवल ६ अमरपथ स्थित सुरपद्मा हाउजिङ्ग कम्पनी सिंह कम्प्लेक्समा उत्पन्न भाडा बिवादका सम्बन्धमा सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा स्थापित बिभिन्न ब्यबसायिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधी र सरोकारवाला पक्षबिच भएको अन्तरक्रियामा सहभागिहरुले बुटवलकै प्रतिष्ठित ब्यबसायिक प्रतिष्ठान सिंह कम्प्लेक्सका संचालकले गरेको निर्णयले ब्यबसायीहरु मर्कामा परेको बताएका छन । पहिले देखिनै निकै महंगो भाडामा लगाइएका सिंह कम्प्लेक्सका सटरहरुमा हाल आएर एक्कासी १ सय ३० प्र्रतिशतका दरले भाडा बढाईएको भन्दै ब्यबसायीहरुले गुनासो गरेपछि आयोजना गरिएको सो अन्तरक्रियामा बोल्ने बक्ताहरुले कम्प्लेक्सका संचालक र ब्यबसायी बिच समन्वय र मेलमिलाप आवश्यक रहेको बताएका थिए । घरबहालका बिषयमा उत्पन्न बिवादले दुबैपक्षलाई फाईदा नहुने तर्क गर्दै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुले यथासिघ्र बिवाद समाधान नभए ब्यबसायीहरु धरासायी हुने भन्दै चिन्ता ब्यक्त गरेका छन ।
नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीको आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन प्रदेश पाँचका महासचिव खेमनारायण पराजुली, नेपाल घरबहाल सरोकार महासंघका केन्द्रिय सचिव लेखनाथ भण्डारी, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ, रुपन्देहीका महासचिव माधव खनाल, रुपन्देही ब्यापार संघका प्रतिनिधी मणि खनाल, बिद्युत ब्यबसायी संघका प्रकाश पाण्डेय, पीडित ब्यबसायीहरु शुभप्रताप राणा, गंगा पोखरेल, नागरिक समाजका प्रतिनिधी सिद्धीचरण भट्टराई, पत्रकार हरिश ढकाल लगाएतले ब्यबसायीहरु मर्कामा परेकोले समस्या समाधानका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया तथा छलफल कार्यक्रममा सिंह कम्प्लेक्समा उत्पन्न बिवाद समाधान गर्नका लागि आवश्यक पहल गर्नका लागि राष्ट्रिय उद्योग ब्यापार संगठन प्रदेश पाँचका महासचिव खेमनारायण पराजुलीको नेतृत्वमा मध्यस्थताकर्ता समुह गठन गर्ने निर्णय गरिएको छ । ब्यबसायीक नेता पराजुलीलाई समस्या समाधानका लागि सरोकारवालासँग समन्वय र छलफल गरि बिवाद समाधानका उपायहरु खोज्ने र समुहका सदस्यहरु चयन गर्ने जिम्मेबारी दिइएको अध्यक्ष पौडेलले जानकारी गराए । सिंह कम्प्लेक्समा एक्कासी १ सय ३० प्रतिशत भाडा बृद्धि गरिएको भन्दै बिरोध स्वरुप बिगत २१ दिनदेखि २९ वटा ब्यबसायिक सटरहरु बन्द छन । पटक पटक कम्प्लेक्स संचालकसँग आग्रह गर्दा पीडित ब्यबसायीहरुको मागप्रति बेवास्ता गरिएको गुनासो उनिहरुले गरेका छन । संचालकले पटक पटक आग्रह गर्दा २०७१ सालदेखि हालसम्म घरबहाल सम्झौता नगरेको र भाडा बृद्धिमात्र गरेर ब्यबसायीहरुलाई धरासायी पार्ने काम मात्र गरेको उनिहरुको आरोप छ ।












