जब सपथ ग्रहणमै कंगोका राष्ट्रपति ढले…

प्रकाशित मिति:

किन्शास – लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उहाँले देशको नेतृत्व गर्न लाग्नुभएकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो । राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उनले मलाई ‘असहज महुशस भयो’ भनेका थिए । त्यसपछि उनको मन्तव्य रोकिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका छन् । उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस)का प्रमुख हुन् । यो दल उनकै बुबा इटीनले स्थापना गरेका हुन् । इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व हुन् ।

चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गरेका थिए । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षपछि निर्वाचन भएर पहिलो पटक सत्ता हस्तान्तरण भएको हो भने निर्वाचनबाट विपक्षी नेता सिसेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका हु्न । हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए ।

खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो ।