प्रतिकूल मौसमका कारण पर्वतारोहीकोे उद्धार कार्य असफल

प्रकाशित मिति:

सोलुखुम्बु – सखुंवासभाको मकालु आधार शिविरमा अलपत्र परेका सोलुखुम्बुका–४ पर्वतारोहीकोे उद्धार कार्य असफल भएको छ ।मौसम प्रतिकूलताका कारण काठमाण्डौबाट हेलिकप्टर जान नसक्दा आज गरिने भनिएको उद्धार कार्य असफल भएको हो । ‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका सोलुखुम्बु, पासाङ ल्हामु गाउँपालिका–१ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा आधारशिविरबाट सम्पर्कविहीन बनेका थिए ।

उनीहरु हिजो साँझ स्याटलाइट फोनमार्फत सम्पर्कमा आएका थिए ।३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत उनीहरुले कम्पनीलाई गराएका थिए ।उनीहरुलाई आज हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लैजाने भनिए पनि सो क्षेत्रमा आजबाट पुन हिमपात भएकाले उद्धार प्रयास असफल भएको उनीहरुलाई पदयात्रामा लैजाने ट्रेकिङ कम्पनी आईएएम ट्रेक्स प्रालिका प्रबन्धक फुनुरु शेर्पाले बताउनुभयो ।

करिब एक महिना पुग्ने खानेकुरा सहित पदयात्रामा निस्किएकाले मौसममा सुधार नभएसम्म उनीहरु त्यसै ठाउँमा बस्ने ट्रेकिङ कम्पनीले जनाएको छ । उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।