बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा अन्य पाँचजना घाइते

प्रकाशित मिति:

भक्तपुर – बिरामी बोकेर आएको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शुक्रबार राति सूर्यविनायक नगरपालिका १० साँगा मुसे गणेश मन्दिर नजिक सिराहा लाहानबाट सवारी दुर्घटनाको घाइते बोकेर काठमाण्डौतर्फ आँउदै गरेको ज १च १४९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो ।यादव सेवा समाजले सञ्चालन गरेको एम्बुलेन्स सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा बिरामी धनुषा जिल्ला ढल्केबरका ७१ वर्षीय झलकबहादुर खड्कासहित अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको न्युरो अस्पताल बाँसबारीमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।एम्बुलेन्स चालक दोलखा सिँगटी घर भई काठमाण्डौको कपन बस्दै आएका २५ वर्षीय सन्तोष तामाङको मध्यपुर अस्पताल थिमीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइते हुनेमा सर्लाही लालबन्दी न।पा। १४ का २१ वर्षीय को बीरबहादुर लुङ्गेली, उदयपुर कटारी बस्ने ३५ को मोहनबहादुर न्यौपाने , धनुषा ढल्केबरकै ३७ वर्षकी घनकुमारी खड्का र ७१ वर्षीय बाटुला खड्काको न्युरो अस्पताल बाँसवारीमा थप उपचार भैरहेको प्रहरीले जनाएको छ ।