टिप्परले फेरि मार्यो मान्छे , स्थानीयले गरे आधा दर्जन टिप्परमा तोडफोड र आगजनी
विराटनगर – मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सोमवार बिहान विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैचा–९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।
तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेलगत्तै स्थानीयले टिप्परमा आगो लगाएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए ।
दुर्घटनापछि स्थानीय वासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् । दुर्घटनालगत्तै विराटचोक–विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय वासिन्दाले नाराजुलुस प्रदर्शन गरेका छन् । स्थानीय वासिन्दाले टिप्पर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय वासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुंगा प्रहार गरेका छन् ।












