बेलायतको अल्डरसटमा चर्च किनेर शिव मन्दिर

प्रकाशित मिति:

लन्डन — नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा शिव मन्दिर बन्ने भएको छ । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको नेतृत्वमा नेपाली डायस्पोरा र विदेशी शुभचिन्तकबाट मन्दिर निर्माणका लागि करिब ४ करोड ३५ लाख रुपैयाँ जुटाइएको छ । सेन्टरले अल्डरसट क्विन्स रोडमा अवस्थित पुरानो चर्च भवन ३ लाख एक हजार एक सय ९० पाउन्डमा खरिद गरी शुक्रबार प्रोपर्टीको साँचो लिएको छ । अब सेन्टरका प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजनमा २ हजार ६ सय ६२ स्क्वायर फिट क्षेत्रफलको उक्त भवन रिफर्बिस ९मर्मत० गरी ३ महिनाभित्र शिव मन्दिर र सामुदायिक क्रियालापका लागि हल प्रयोगमा ल्याइनेछ । मन्दिरमा चतुर्मुखी शिवलिंग, पाञ्चायन, घण्टा, नन्दीलगायत स्थापना गरी मन्दिर प्रतिस्थापन गरिने जानकारी सेन्टरका अध्यक्ष रोहित गुरुङले दिए ।

करिब २ सय जनासम्म अट्ने उक्त भवनमा नियमित पूजाआजाबाहेक शिवरात्रि, दसैंतिहार, एकादशी, सरस्वती पूजा, बुद्धपूर्णिमा, विश्वकर्मा पूजा, होलीजस्ता पर्व र बिहे व्रतबन्ध, योगादेखि आध्यात्मिक प्रवचनसम्म गरिने सेन्टरले जनाएको छ । ‘मन्दिर बनाउन हाम्रो अभियानलाई साथ दिने समस्त नेपाली समुदायप्रति हामी कृतज्ञ छौं,’ अध्यक्ष गुरुङले भने । मन्दिर तथा सामुदायिक भवन खरिदका लागि करिब ३ सय ६० जना मनकारी दाताले चन्दा दिएका थिए । सेन्टरको खातामा ३ लाख २९ हजार पाउन्ड आइसकेको छ भने प्रतिबद्धता रकम करिब २० हजार पाउन्ड उठ्न बाँकी छ ।सबभन्दा बढी करिब २१ लाख रुपैयाँ चन्दा दिएका व्यवसायी रविजंग लामिछानेले मन्दिर निर्माणले नेपाली समुदायलाई एकै ठाउँमा ल्याएको बताए । ‘मन्दिर बनाउन हरेक जात जाति, धर्म, वर्ग र समुदाय एकजुट भएर चन्दा दिए । यसले बेलायतको नेपाली समाजमा एकताको सन्देश प्रवाह गरेको छ,’ लामिछानेले भने । काठमाडौंको धुम्बाराहीमा करिब २ करोड रुपैयाँको लागतमा श्रीचन्द्रेश्वर महादेव मन्दिर बनाइदिएका लामिछानेले नै यहाँ मन्दिरमा राख्न मूर्तिलगायत अन्य सामग्रीको खर्च बेहोर्ने भएका छन् । सेन्टरले विगत ३ वर्षदेखि अल्डरसटकै एम्पायर हलको माथिल्लो फ्ल्याट भाडामा लिई मन्दिर स्थापना गरेर विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नविन पोखरलेले लख्नु भएको समाचार ईकान्तीपुर वाट साभार