काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा आगजनी गरेको विषयप्रति कांग्रेस नेता गगन थापाले विरोध गरेका छन् ।शनिबार नेविसंघका कार्यकर्ताहरुले केन्द्रको निर्देशन भन्दै सरकारी गाडीमा आगजनी गरेका थिए । तर, सांसदसमेत रहेका थापाले सरकारी गाडीमाथि आगजनी गर्नू निन्दनीय भएकाले दुरुत्साहन गर्न डटेर सामना गर्ने बताए ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘नेविसंघको नाममा केही विद्यार्थीले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु ।’
नेविसंघले शनिबार पोखरा महानगरपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका गाडी गाडी जलाएको थियो । शनिबार सार्वजनिक बिदाका दिन चलाएकाले सरकारी गाडी जलाइएको नेविसंघले जनाएको छ । संघका पूर्वकेन्द्रीय सदस्य सरोज केसीले बिदाका दिन सरकारी गाडी चलाए जलाउने केन्द्रीय नीति भएको बताएका थिए । काँग्रेसले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।













