बसन्त थापाले भने, ‘यस्तो श्रृजना गर्न मन् छ, जसमा आवाज रविको होस्, माया करोडको होस्’

प्रकाशित मिति:

काठमाडौँ – अहिलेको चर्चित नेपाली लोकदोहोरी गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन् । अप्ठ्यारो परेका बेला साथ नदिएको प्रसंग उल्लेख गर्दै उनले अब प्रतिष्ठानमा आफू नरहेको जानकारी गराएका छन् ।

‘लोक गीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा, मौलिकता माथि प्रहार भइरहँदा, प्रतिष्ठा माथि गालि वर्षदा पनि टुलुटुलु हेरिरहनेहरू म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिन । त्यसैले आजैको मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ थापाले फेसबुकमा लेखेका छन् ।

नेपाल आइडल रवि ओडले ‘सालको पात’ गीतलाई बिगारेर गाएपछि आपत्ति जनाएका थापालाई जुनियर कलाकारलाई हौसला दिनुको साटो निरुत्साहित पार्न खोजेको आरोप छ ।

रविले भने पर्याप्त तयारी बिना नै गीत गाउन बाध्यता आइलागेका कारण गल्ती भएको स्वीकार गरिसकेका छन् । तर रविका फ्यानहरु भने सामाजिक सञ्जालमार्फत एकोहोरो रुपमा थापालाई गालीगलौज गरिरहेका छन् । यस विषयमा लोक दोहोरी प्रतिष्ठान अहिलेसम्म चुप लागेको छ ।

आफूमाथि निर्मम प्रहार हुँदा समेत प्रतिष्ठान नबोलेपछि अलग भएको घोषणा गरेका थापाले रविसँग मिलेर करोडको माया प्राप्त गर्ने सृजना गर्न मन लागेको पनि बताएका छन् । ‘यस्तो श्रृजना गर्न मन छ, जसमा आवाज रवि ओडको होस् र माया करोडको होस् गाली गर्नेहरू लाई बारम्बार पश्चाताप होस्’ थापाले भनेका छन् ।