डिपिएलको तयारी पुरा

प्रकाशित मिति:

धनगढी प्रिमियर लिग डिपिएल को तेस्रो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि प्रस्तावित गरिएको फाप्ला क्रिकेट मैदानमा माघ २६ गतेदेखि सुरु हुँदै छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार फाप्ला मैदानमा पत्रकार सम्मेलन गरी फागुन ११ गतेसम्म सञ्चालन हुने खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगिताले केही साताअघि आइसिसीबाट मान्यता प्राप्त गरेको थियो।‘सबै तयारी पूरा भएको छ। मैदानलाई बेहुलीझैं सिँगार्न मात्र बाँकी छ,’ क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने।

यसअघिका दुई संस्करण धनगढी बजारको मध्यभागमा रहेको संघीय प्रहरी एकाइको मैदानमा आयोजना गरिए पनि यस पटक धनगढी उपमहानगरपालिका– ३ मा पर्ने फाप्ला क्रिकेट मैदानमा आयोजना गरिन लागेको हो। फाप्ला मैदानको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न र क्रिकेटप्रेमी दर्शक यहाँ आउने बुझेर यस पटकदेखि खेल यहाँ आयोजना गर्न लागिएको शाहीले बताए। मैदानमा फलामबाट निर्मित प्यारापिट बनाउने काम भइरहेको छ। मैदानमा ५ हजार दर्शकले हेर्ने गरी प्यारापिट तयार गरिएको उनले बताए। मैदान तथा प्राविधिक व्यवस्थापनका काम सकिएको उनको भनाइ थियो।