पोखरा \ नेपाल–भारतबीचको व्यापार सहजीकरणका लागि दुई मुलुकका वाणिज्य सह–सचिवस्तरीय वार्ता पोखरामा आज शुरु भएको छ । भारतसँग नेपालको चरम व्यापार घाटा रोक्ने पहल स्वरुप वाणिज्य सहसचिवस्तरीय बैठक शुरु भएको हो । बैठकमा व्यापार घाटा न्यूनीकरणका साथै निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार तथा भन्सारमा क्वारेन्टाईन सुधारका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर संैजुले जानकारी दिनुभयो । दुई मुलुकको व्यापार सहजीकरणका लागि भएको बार्तामा नेपाली पक्षले वाणिज्य सन्धी परिमार्जन गर्ने प्रस्ताव गरेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व सैंजु र भारतीय टोलीको नेतृत्व भूपेन्द्र सिंह भल्लाले गर्नुभएको छ । भोलीसम्म चल्ने बार्तामा व्यापार सहजीकरणसँगै नेपाली उत्पादनको निर्यात प्रवद्र्धनबारे छलफल हुने बताईएको छ ।












