संखुवासभा — ९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन्।
बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पावरहाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीन वटा बम विस्फोट भएको प्रहरीको भनाइ छ। बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए। विष्फोट किन र कस्ले गर्यो भन्ने अझै खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ। पटकपटक बम बिस्फोट भएपछि पुखुवामा सेना र प्रहरी सुरक्षाका लागि राखिएको थियो।
बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयले बताए। घटनास्थल सदरमुकाम खाँदबारीबाट ५ घण्टा टाढा पर्छ। सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत विवरण आइसकेको छैन। घटनाको जिम्मा अहिलेसम्म कसैले लिएका छैनन्।सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत् उत्पादन हुनेछ। यस बहुचर्चित परियोजनामा भारतीय सतलज कम्पनीले काम गरिरहेको छ।
भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेको अरुण तेस्रोको शिलान्यास गरेका थिए। त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ।












