काठमाण्डौ /बागमती सफाइ अभियानको ३०० औ हप्ताको अवसरमा काठमाण्डौमा विशेष कार्यक्रम गरिएको छ ।शनिबार काठमाण्डौको शंखपार्कमा गरिएको बागमती सफाइ महाअभियानको ३०० औ हप्ताको विशेष कार्यक्रममा सरकारका मन्त्रीहरु, सफाइ अनियानका अभियन्ताहरु, नागरिक समाजका अगुवा, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी मन्त्री बिना मगर र वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत सहभागी हुनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिए पनि अन्तिम समयमा उहाँ स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएन । कार्यक्रमलाई सम्बोधन गर्दे खानेपानी मन्त्री बिना मगरले बागमती सरसफाइ महाअभियानले आम नेपाली जनतालाई सरसफाइको महत्व र प्राकृतिक सुन्दरताको अपरिहार्यतालाई दर्शाउन सफल भएको बताउनुभयो ।
शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले धर्तीलाई जननी मान्ने धार्मिक विश्वास रही आएको भन्दै जन्म दिने जननीलाई फोहर गर्न नदिन सबै नेपाली उद्त हुनुपर्नेमा जोड दिनुभयो कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ४ सय ४० वटा सौर्य बत्तीको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी सरसफाइ अभियानका अभियन्ताहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । निरन्तरको झरी परे पनि पनि कार्यक्रममा सर्वसाधरण र अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो ।












