काठमाडौं । नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको छ ।२०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा। प्रकाशचन्द्र लोहनीले वीपी उद्यानको शिलान्यास गरिसकेको र अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । माघ २४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको हो । हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ, यसमा केन्द्रीय सरकारले गम्भीरता राखोस्, प्रदेश सरकार पनि गम्भीर बनोस् वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि बढोस् ।












