स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकारले गर्ने कामको तौरतरिका र उनीहरुले गरेका कामहरुको प्रभावकारीताको विषयमा जानकारी गराउने उद्देश्यले गुल्मीको धुर्कोट गाउँपालीकामा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ गुल्मीको आयोजना र धुर्कोट गाउँपालीकाको सहकार्यमा दुई दिनसम्म सञ्चालन गरिएको स्थानीय सरकारको प्रभावकारीता अभिवृद्धिमा संचार क्षेत्रको भूमिका विषयक उक्त कार्यक्रममा स्थानीय सरकारका जन प्रतिनिधिहरुले आफ्ना क्षेत्रका जनताहरुलाई कसरी सूचनाको हकको वारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
तालीमका मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हक, सञ्चार क्षेत्र र स्थानीय सरकारका वीच सूचनाको आदान प्रदान कसरी गर्ने, संचार र संचार माध्यमहरुको महत्व, प्रकार, पत्रकार सम्मेलन, सूचनालाई प्रयोग गर्ने विधि र व्यवहार, संघीयतालाई कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुको भूमिका लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
धुर्कोट गाउँपालीकाका अध्यक्ष भुपाल पोख्रेल, उपाध्याक्ष शिव खत्री, प्रमुख प्रशासकीय अधिकृत मधु घिमिरे लगायत वडा अध्यक्ष, गाउँसभा सदश्य तथा सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुले विषय वस्तुहरु विगतमा सुनेको र अलीअली जानेको जस्तो लागेपनि खास त्यसको भित्री गहिराई र मुख्य चुरोमा पुग्नको लागि यस्ता प्रकारका तालीम आफुहरुका लागि निकै प्रभावकारी र उपयोगी रहेको तालीममा सहभागि धुर्कोट गाउँपालीकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनु भयो । गुल्मी जिल्लामा रहेका बाह्रवटा स्थानीय तहहरु मध्य पहिलो पटक धुर्कोट गाउँपालीकामा आयोजना गरिएको उक्त तालीममा नेपाल पत्रकार महासंघ गुल्मीको तर्फवाट अध्यक्ष नवराज भुसाल र पुर्व अध्यक्ष जनार्दन घिमिरेले समेत सहजीकरण गर्नु भएको थियो । .












