जम्मू–काश्मीरमा फेरी अर्को हमला, मेजरको ज्यान गयो

प्रकाशित मिति:

जम्मू  – जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक फेरी एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दकाअनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम सार्वजनिक गरिएको छैन् ।

प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए । त्यतिबेला उनले भर्खरै खनेको माटो देखे र तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो । त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो । उनीसँगै रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।

गएको बिहीबार भारतीय सुरक्षाकर्मीको एक बसमा कारबाट आत्मघाति आक्रमण भएको थियो । विस्फोटमा ४२ जना भारतीय अर्ध सैनिक बलका जवानहरुको ज्यान गएको थियो । यसलाई सबैभन्दा घातक आक्रमण मानिएको छ । अयसअघिको हमलामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर मृतकप्रति समवेदना व्यक्त गरेका थिए ।