बुटवल – बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स भवन बन्ने भएको छ । बुटवल–९ स्थित हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको ३ तलाको भवन बन्ने छ ।
यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरी सोमबार सम्झौता भएको छ । बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतबीच सोमबार काठमाण्डौंस्थित नगर विकास कोषको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए । १० करोड ८४ लाख रुपैंयाको कुल लागतमा बन्ने सो भवनको निर्माणकार्य बैशाखबाट सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए ।
बुटवलको सम्भावनालाई साकार पार्नेगरि सहकार्य गर्ने सम्झौता भएको उल्लेख गर्दै कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिने बताए ।
भवन बन्न लाग्ने लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाण्डौंले लगानी गर्ने छ । बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैले जोहो गर्ने छ ।
कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए । कोषसंगको सम्झौताले आफुहरुलाई हौसला बढेको सिग्देलको भनाइ छ ।
बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । अब लगत्तै ठेक्कापट्टा र बाँकी प्रक्रियागत कामहरु अगाडि बढ्ने उनको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाले अगाडि सारेका आवधिक र दीर्घकालिन महत्वका योजनाहरुमध्येकै एउटा योजना अत्याधुनिक पार्किङ भवन अर्थात सपिङ कम्पलेक्स रहेको उल्लेख गर्दै प्रवक्ता रेग्मीले निजी र सहकारी क्षेत्रसंगको सहकार्यमा अरु योजनाहरुलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइने बताए ।
तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । उनका अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् ।
पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउँदै योजना प्रमुख ई.श्रेष्ठले अहिले वहुवर्षीय योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको बताए । बुटवल उपमहानगरपालिकाले जितगढी, हिलपार्क, मिलनपार्कहरुको गुरुयोजना बनाइरहेको छ । यस्तै जवइ खेल मैदान, ट्रान्सपोर्ट भिलेज र विभूति पार्कका लागि पनि गुरुयोजना बनाएर काम अगाडि बढिरहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।












