भैरहवा,/नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’अन्तर्गतको खेलमा दीप क्रिकेट क्लब, बुटवल ३३ रनले विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनी कासाई क्रिकेट क्लब, लुम्बिनीलाई पराजित गर्दै दीप विजयी भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको दीपले निर्धारित ५० ओभरको खेलमा २५ ओभर ३ बलमा सबै विकेट गुमाई ९४ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि स्विकोट दिवसले २५, सुवास विकले १६ र अजय अहम्मदले १२ रन बनाए । बलिङमा लुम्बिनी कासाईका प्रदीप जैसवाल र प्रदीप कुमारले समान ४÷४ विकेट लिए ।
प्रतिउत्तरमा ९५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी कासाईले १६ ओभर ४ बलमा सबै विकेट गुमाई ६१ रनमै समेटियो । उसका लागि सुनिल धवलले १८ र प्रदीप जैसवालले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा सामान्य स्कोर समेत नभेट्टाई टिमले हार व्यहोर्यो । लुम्बिनी कासाईलाई सस्तैमा समेट्न दीपका शिवकुमार मौर्यले ४, अजय अहम्मदले ३, सुगम हमालले २ तथा अर्जुन गिरीले १ विकेट लिए । खेलमा दीपका शिवकुमार मौर्य म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
शुक्रबारको खेलसँगै डिभिजन ‘बी’ अन्तर्गत पहिलो चरणको खेल समिकरण सकिएको छ । शनिबारबाट डिभिजन ‘बी’अन्तर्गत दोस्रो चरणको खेल सुरु हुने छ । शनिबार बुद्ध स्पोट्र्स क्लब, भैरहवा र बुटवल ११ क्रिकेट क्लब, बुटवलबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणअन्तर्गत विजयी टिम डिभिजन ‘ए’मा उक्लिने अध्यक्ष मल्लले बताए । प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा स्न्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ । लिग चैत ६ गतेसम्म चल्ने छ ।










