काठमाडौँ– ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बम विष्फोटमा घाइते गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुका बम विष्फोट भएको थियो ।
यता, काठमाडौँको कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् ।
अनुसन्धानका लागि दुई सुरक्षा गार्ड पक्राउ
यसैबीच, नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त बम विस्फोटमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जना एनसेल टावरको सुरक्षाका लागि खटिएका गार्ड हुन् । उनीहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीकाअनुसार मोटरसाइकलमा आएका केही व्यक्तिहरू गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए । ती दुवै सुरक्षा गार्ड यसअघि सेनामा काम गरेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बम विस्फोटबाट घटनास्थल वरपरका तीन घरका झ्याल र ढोकाका सीसा पूर्णरूपमा फुटेका छन्।












