गृहमन्त्री बन्ने हल्ला चलेपछि जनार्दनले खोले मुख

प्रकाशित मिति:

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल पुनर्गठन तथा मन्त्रीहरूको जिम्मेवारी हेरफेरको बजार हल्लाप्रति नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले मुख खोलेका छन् । नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पुनर्गठनको सहमति भएको समाचार केहीदिन पहिले बाहिरिएको थियो ।

अध्यक्षद्वयबीच सरकार पुनर्गठनको सहमति भएको सूचना बाहिर आएपछि नेकपाका कार्यकर्ताहरूबीच विभिन्न अड्कलबाजी चलिरहेको छ । केही नेताहरूले मन्त्री बन्नका लागि लबिङ गरेको समाचार पनि बाहिर आएका छन् । सामाजिक सञ्जालमा जनार्दन शर्मा गृहमन्त्री बन्ने खालका चर्चा छाएका छन् । नेकपाका कार्यकर्ताले जनार्दन अर्थमन्त्री बन्ने हल्ला पनि चलाएका छन् ।

आफू मन्त्री बन्ने हल्ला चलेपछि जनार्दनले मुख खोलेका हुन् । ‘संघीयता कार्यान्वयनको ऐजेण्डाप्रति सचेतता पूर्वक लागेको कुराबाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट पार्दछु,’ जनार्दनले सोमवार सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्नेसम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरूसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु ।’ -यस्तो छ स्टाटस :