नेपाल बारमा चुनावी रौनक, देश दौडाहामा लोकतान्त्रिक प्यानल

प्रकाशित मिति:

उदयपुर – आगामी चैत १६ गते हुने नेपाल बार एशोसिएशनको निर्वाचनका लागि उम्मेदवारहरु देश दौडाहामा निस्केका छन्। उम्मेदवारी दर्तापछि दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा रहेकाले दुवै समूह जिल्ला तथा उच्च बारका प्रतिनिधिसँगको भोट माग्न हिँडेका हुन्।सुनिल कुमार पोखरेलको नेतृत्वमा लोकतान्त्रिक प्यानल खडा भएको छ भने प्रगतिशीलबाट चण्डेश्वर श्रेष्ठको प्यानल चुनावी प्रतिस्पर्धामा छ। लोकतान्त्रिक समूहले पूर्वी जिल्लामा चुनाव केन्द्रीत अभियान सञ्चालन गरेको छ।

अध्यक्षका उम्मेद्वार पोखरेल सहितका सबै उम्मेदवारले झापाबाट शुरु गरेको प्रचार अभियान अन्तर्गत मंगलबार विहान उदयपुरको गाईघाटमा भएको छ। उदयपुरमा जिल्ला बारका सदस्यहरुसँगको भेटमा अध्यक्षका उम्मेदवार पोखरेलले जिल्लामा काम गरेका कानुन ब्यवसायीलाई पनि वरिष्ठ अधिबक्ताको उपाधि दिलाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन्। उनले उपत्यका बाहिरका कानुन ब्यवासायीको क्षमता अभिबृद्धिका लागि पहल गर्ने पनि बताए।

लोकतान्त्रिक प्यानलबाट महिला उपाध्यक्षमा कविता थापा कार्की छन्। यसैगरी प्रदेश १ बाट डिल्ली बहादुर कार्की, प्रदेश २ बाट सुधिरकुमार कर्ण, प्रदेश ३ बाट राजेश्वर अधिकारी, गण्डकी प्रदेशबाट निरन्जनलाल राजभण्डारी, प्रदेश ५ बाट सुनिल कमार श्रेष्ठ, कर्णाली प्रदेशबाट उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशबाट ठेगेन्द्रराज जोशीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

महासचिवमा लिलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावलको उम्मेद्वारी परेको छ। लोकतान्त्रिक प्यानलबाट सदस्यमा रुपनारायण विक, शेषमन यादव, मनोज कुमार चौधरी, अमृत लामा, कैलाश विक्रम गुरुङ, शिवानी जोशी, सोनी रघुवंशी, गोविन्द प्रसाद सिग्देल, रमेश कुमार ढकाल, कृष्णभूषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेक प्रसाद सुवेदीले उम्मेदवारी दिएका छन् ।देशभर बारका १० हजार पाँच सय मतदाता छन्। उनीहरुले चैत १६ गतेको निर्वाचनमा नजिकैको मतदान केन्द्रबाट मतदान गर्नेछन्। त्यसका लागि ३५ वटा बुथमा मतदान हुनेछ।