स्याङ्जा- स्याङ्जाको मध्यभागमा रहेको भीरकोट नगरपालिकाको बयरघारी बजारस्थित खेलमैदानमा शुक्रबारदेखि तेस्रो रमाईलो मेलाको आयोजना गरिएको छ । मेला संघारमा आईपुग्दा तयारीलाई तिव्र पारिएको छ । बजार झिलिमिलि बनेको छ । विभिन्न स्थानमा प्रवेशद्धारको निर्माण, स्वच्छ सफा वातावरणले मेलाको रौनकता बढाएको छ । स्थानीय आँधीखोला पिस युथ क्लबले यसपटक तेस्रो बयरघारी रमाईलो मेला तथा भलिबल प्रतियोगिता २०७५ को आयोजना गरेको हो । यसअघि २ मेलाहरु सफलतापुर्वक सम्पन्न गरिसकेको क्लबले युवा समृद्धिको लागी मेलाको आयोजना गर्दैछ । क्लबका अध्यक्ष एवं आयोजक मूल समिति संयोजक राजकुमार गुरुङसंग मेलाको विषयमा कला रानाले गर्नुभएको कुराकानी :-
अध्यक्ष ज्यू, मेलाको संघारमा छौँ हामी, कत्तिको व्यस्त हुनुहुन्छ ?
तपाँईले ठीक भन्नुभयो, हामी तेस्रो बयरघारी रमाईलो मेला तथा भलिबल प्रतियोगिता २०७५ को संघारमा आईपुगेका छौँ । मेला तयारीका लागी गठित मूल समिति सहित १५ उपसिमितिहरु आ–आफ्नो तयारीमा जुटिरहनुभएको छ ।
बयरघारी मेला समग्र बयघारीको पहिचान हो । यो पहिचानलाई मेलाको तर्फबाट उच्च बनाउने हाम्रो प्रयास रहेको छ । यहाँका सम्पुर्ण महानुभावहरुको सहयोगले मेला हामीले भव्य अनि सभ्य रुपमा सम्पन्न गर्नेछौँ । मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । स्टल निर्माण, बाल उद्यान, साउण्ड सिष्टम, स्टेज निर्माण सबै कार्य हामीले पूरा गरेका छौँ । मेलामा आगन्तुक पाहुनालाई स्वागत गर्न भीरकोट बासी आतुर देखिन्छन् । हामी मेला उद्दघाटन गर्न आतुर छौँ ।
१७ गते शुक्रबार एकै दिन जिल्लामा दुई मेला तथा महोत्सवको आयोजना हुँदैछ । अझ भनौँ, भने तपाँईकै छिमेकी पालिका पुतलीबजार स्याङ्जामा समेत महोत्सव हुँदैछ । एकै दिन गरीएको मेला महोत्सवले बयरघारी रमाईलो मेलालाई कत्तीको असर गर्ला ?
तपाँईको प्रश्न एकदमै सही छ । हो एकै दिन यहाँ २ स्थानमा मेला, महोत्सव हुँदैछ । तर स्याङ्जा र यहाँको मेलाको भिजन फरक फरक होला, हामी विशेष गरी युवा वर्गलाई लक्षित गरेका छौँ । हाम्रीले मेलाको नारा “शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रर्वद्धनको लागी” भन्ने राखेका छौँ ।
हामीले खेलकुद र स्वास्थ्यको माध्यमबाट युवालाई समाज तथा देश विकास र समृद्धिमा जोड्ने प्रयास गरेका छौँ । सर्वाधिक राशीको भलिबल प्रतियोगिता राखेका छौँ, खुल्ला कुस्ती प्रतियोगिता समेत आयोजना गरेका छौँ । युवाको जोस, जाँगरलाई उजागर गर्दै राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउने प्रयत्न गरेका छौँ । जिल्लामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने हाम्रो उद्देश्य हो । जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरु छन् । तिनको उचित प्रयोग गरी पर्यटक धेरै भन्दा धेरै भित्र्याउन सकियो भने यहाँको आर्थिक समृद्धि हुनेछ ।
बयरघारी मेलामा दर्शक किन आउने ? तेस्रो बयरघारी रमाईलो मेलामा के छ विषेश, बताईदिनुस् ?
तेस्रो बयरघारी मेला तथा भलिबल प्रतियोगिता २०७५ मा युवालाई केन्द्रित गरेका छौँ । युवासंगै बालबालिकाको लागी बालउद्यान, बृद्धबृद्धाहरुको लागी लोकदोहोरी र रत्यौली गित प्रतियोगिता आयोजना गरेका छौँ । विद्यालयस्तरी नृत्य प्रतियोगिता, प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुति विभिन्न विधाका कलाकारको प्रस्तुति, चर्चित पप व्याण्डको लाईभ प्रस्तुति रहनेछ ।
हस्तकलाको विक्रि तथा प्रर्दशनी, कृषि तथा पशुपंक्षीको प्रर्दशनी तथा विक्रि, कृषक र कृषि विशेषज्ञबीच प्रत्यक्ष अन्र्तक्रिया समेत गरिनेछ । यहाँका स्थानीय कृषि उपजको विक्रि तथा प्रर्दशनीका लागी कृषि, हस्तकला र पशुपंक्षीको लागी २० वटा स्टल हामीले निशुल्क उपलब्ध गराएका छौँ । खेलकुदको माध्यमबाट युवालाई समृद्धिमा जोड्ने प्रयास स्वरुप, भलिबल र गुस्ती प्रतियोगिताको आयोजना गरेका हौैँ ।
कुस्ती प्रतियोगितामा २ जना नेपाली र अन्य भारतीय खेलाडीहरु हुनेछन् । अन्य मेला महोत्सवमा भन्दा केहि भिन्न केहि नयाँपन दर्शकलाई दिने प्रयास गरेका छौँ, पक्कै पनि दर्शकले तेस्रो बयरघारी मेलामा नयाँपन महशुस गर्नुहुनेछ ।
यसरी आयोजना गरिने मेला महोत्सवले यहाँका फेन्सि कष्मेटिक तथा भाडाव्यवसायीहरुलाई मर्का परेको गुनासो सुनिन्छ नि, स्थानीय व्यवसायीको हितमा मेलाले कसरी काम गर्नेछ ?
तपाँईले उठाउनुभएको प्रश्न निकै गम्भीर छ । मेला महोत्सवमा धेरै कारोबार हुने हुँदा केहि मिलाएर सामान विक्रि हुन्छ नै, त्यसैले हामीले यहाँका स्थानीय व्यवसायीलाई विशेष छुटका साथ स्टल राख्नुस, तपाँइको व्यापार व्यवसाय प्रर्वद्धन गर्नुस भनेर अनुरोध गरेका छौँ ।
हाम्रो मेलामा स्थानीय व्यापारीहरुको समेत आर्कषण रहेको छ । उहाँहरुले केहिले स्टल बुकिङ गरिसक्नुभएको छ । स्थानीय व्यापारीलाई १५ देखि २० प्रतिशतका दरले स्टल उपलब्ध गराएका छौँ । जति सकिन्छ स्थानीय व्यापारीलाई हामीले उत्साहित गराउँनेछौँ ।
मेलाबाट बचत रकम सामाजिक कार्यमै खर्च गर्नुहुनेछ की, अन्य केहि ठोस योजना छन् ?
विगतका दुई मेलाबाट बचत गरिएको रकम हामीले प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत दिनेलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्यमा खर्च गरेका थियौँ । अहिले विशेष गरी बयरघारीको खेलमैदान व्यवस्थापन आवश्यक देखेका छौँ, खेलमैदान व्यवस्थापनमा खर्च गर्नेछौँ भने अर्को बयरघारीमा बढ्दो शहरीकरणसंगै यहाँ सार्वजानिक सौचालयको आवश्यकता खड्किएको छ । उचित जग्गा खोजेर मानिसको चाप हुँने स्थानमा सार्वजानिक सौचालयको लागी पहल गर्नेछौँ ।
प्रवेश टिकटको विषयमा जानकारी गराईदिनुस न ?
प्रवेश टिकट हामीले निकै सहुलियत दरको निर्धारण गरेका छौँ । साधारण तर्फ ६० रुपैँया तय गरिएको छ भने विद्यार्थीका लागी ४० रुपैँया रहेको छ । बृद्धबृद्धा र अपाङ्गको लागी निशुल्क प्रवेशको व्यवस्था गरेका छौँ । टिकटदर सबैको पहुँचमा पुग्ने खालको निर्धारण गरिएको छ ।
अन्तमा दर्शक तथा पाठकलाई के भन्न चाहानुहुन्छ ?
भोली शुक्रबार फाल्गुन १७ गतेबाट शुरु हुन लागेको तेस्रो रमाईलो मेलामा सम्पुर्णमा म चुल्है निम्तो गर्दछु । रमाईलो मेलामा आउनुस् । परिवारका साथ आउनुस् । तपाँई र तपाँईको परिवारले धेरै भन्दा धेरै रमाईलोको साथमा नयाँपन पाउनुहुनेछ । प्रवेश टिकटमा समेत हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । मेलामा तपाँईले यहाँको धार्मिक तथा पर्यटकीय गन्तव्यको बारेमा विस्तृत थाहा पाउन सक्नुहुनेछ । अझै नयाँ त सँधै टेलिभिजनमा मात्रै हेर्न पाईने कुस्ति खेल प्रत्यक्ष हेर्न पाउनुहुनेछ । तपाँईहरुको उत्साहजन सहभागिताले रमाईलो मेलालाई विशेष बनाउनेछ । बयरघारीको पहिचान मेलामा झल्कनेछ । मेलाले यो पहिचानलाई उच्च राख्न मद्दत गर्नेछ ।












