भैरहवा – दुई हप्ताअघि भारतीय सुरक्षाकर्मीमाथि पुलावामा आक्रमण भएपछि भारत र पाकिस्तानबीच बढेको विवादका कारण नेपाल-भारत सीमा नाकामा कडाइ गरिएको छ। नेपाल भारतको खुला सीमा नाकाबाट आतंक घुस पैठ लगायतका आपराधिक क्रियाकलाप रोक्न सीमा नाका बेलहिया र सुनौलीमा कडाइ गरिएको हो। सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले चेकजाँच कडा बनाएका छन्। भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई पनि दृष्टिगत गर्दै भारतले नेपालसगँ सुरक्षा सहयोग गर्न आग्रह समेत गरेको छ। निर्वाचनको साथसाथै भारत–पाक बीच तनाव बढेसँगै नेपालले पनि नाकाबाट हुने सक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नाकामा कडाइ गरिएको सोनौली कोतवालीका निमित्त प्रमुख सब–इन्सपेक्टर राजेन्द्र सिंहले बताए।
सीमावर्ती भारतीय नाका सुनौलीबाट हुनसक्ने घुसपैठ, आतंकी क्रियाकलाप रोक्नका लागि भारतको खुफिया एजेन्सी रअ, इन्टिलिजेन्स ब्युरो (आइ.बी), स्पेशल टाक्स फोर्स (एस.टि.एफ), लोकल इन्टिलिजेन्स युनिट (एलआइयू), सीमा सुरक्षा बल (एसएसबी) लगायत सम्पूर्ण युनिट सीमा नाकामा सक्रिय रहेको छ। ‘सबै गुप्तचर संस्थाले आ–आफ्नो ढंगले सीमाको निगरानी गर्दै अहिले नाकामा सक्रिय छन्,’ स्रोतले भन्यो, ‘सूचना स्रोतसँग पनि उनीहरू निरन्तर सम्पर्कमा रहेर सूचना संकलन कार्य जारी राखेका छन्। अवैध घुसपैठको लागि सुनौली नाका संवेदनशील मानिन्छ। उनका अनुसार नेपाल प्रहरीले पनि आफूहरुलाई सहयोग गरिरहेको छ। उनले नाकाबाट अवैध घुसपैठ, विस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावना रहेकोले अन्य काम छाडेर आफुहरु नाका देखि ग्रामीण क्षेत्रमा चौबिसै घण्टा निगरानी राखेर गस्ती गरिरहेको बताए।
भारतीय सुरक्षा निकायले नाकाबाट हुने सक्ने सम्भावित घटनालाई रोक्नका लागि नाकामा रहेको होटल, धर्मशाला, ग्रामीण क्षेत्र, बसपार्क, बैंक लगायत सबै क्षेत्रमा प्रत्यक्ष निगरानीमा राखेको छ। प्रहरीले धर्मशाला, होटलमा आगन्तुक सबैको विवरण राख्ने काम गरेको छ भने गाउँमा देखिएका नयाँ व्यक्तिसगँ सोधपुछ गर्ने कार्य गरिरहेको छ। समय समयमा सप्राइज चेकिङ समेत गरिरहेको भारतीय प्रहरीले जनाएको छ विगतमा पनि आफूहरूले नाकामा चेकजाँच गर्ने गरे पनि अहिले थप प्रभावकारी रुपमा चेकजाँच भइरहेको एसएसबी सुनौलीका प्रमुख इन्सपेक्टर रतन सिंह अहिरले बताए।
उनले भने, ‘अहिले हाई अलर्ट घोषित गरिएको छ। जसअनुसार हाम्रो संयन्त्र कडा रुपमा नाकाको निगरानी गरिरहेको छ।’ यता रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले आफूहरूको नियमित सुरक्षा गस्ती साथै विप्लव नेतृत्वको नेकपा माओवादीको गतिविधि निगरानी गर्न पनि थप प्रभावकारी रुपमा सुरक्षा गस्ती भइरहेको बताए।












