काठमाडौं – विगत तीन सातादेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। यद्यपि, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले उनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् भने केही अनलाइन सञ्चार माध्यमले उनको मृत्युको समाचार सम्प्रेषण गरेका छन्। तर, उनको मृत्यु भएको भन्ने कुरा सरकार,पार्टी, अस्पताल तथा परिवारका सदस्य कतैबाट पनि पुष्टि हुने सकेको छैन।
अस्पतालले गरेको पत्रकार सम्मेलनपछि भने पार्टीका नेता तथा कार्यकर्ता र आफन्तहरू अस्पतालमा भेला हुने क्रम भने बढेको छ। यसअघि अस्पतालले गरेको पत्रकार सम्मेलनमा अधिकारीका सबै महत्वपूर्ण अंगले काम गर्न छाडिसकेको जनाइएको थियो। उनको उपचारमा संलग्न चिकित्सक हेमराज पनेरुले उनलाई बचाउन सक्ने अवस्था न्यून रहेको र कृतिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको बताएका थिए। उनका अनुसार विगत २४ घण्टादेखि उनले पिसाब पनि गरेका छैन। ‘उहाँको स्वास्थ्य अवस्था सुध्रन सकेको छैन, अहिले कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ,’ डा. पनेरुले भने, ‘उहाँलाई बचाउन सक्ने अवस्था न्यून छ, अहिले हामीले उहाँलाई सजिलो हुने उपचारमात्रै गरिरहेका छौँ।’ अधिकारी फोक्सो तथा मुटुको समस्या भएपछि अस्पतालमा उपचाररत छन्।












