गुल्मी सेक्रेटरी खड्काको गिरफ्तारीप्रति नेकपाको आपत्ति

प्रकाशित मिति:

बुटवल । नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी कमरेड खिम खड्कालाई बिनाकारण गिरफ्तार गरेको भन्दै नेकपा लुम्बिनी व्युरोले घोर निन्दा एवं भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गरेको छ । लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले आइतवार एक प्रेश विज्ञप्ती जारी गर्दै गिरफ्तार गरिएका खड्कालाई तत्काल रिहा गर्न माग गरेका हुन् । व्युरो इन्चार्ज वीरजंगद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,“हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दुईमहिने संगठन सुदृढीकरण तथा विस्तार अभियान संचालन गरिरहेको अवगत नै छ । पार्टीको अभियान तथा सांगठनिक कामको सिलसिलामा २०७५ फागुन १९ गते दिउँसो ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका लुम्बिनी व्युरो सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी कमरेड खिम खड्कालाई तम्घासबाट बिनाकारण गिरफ्तार गरेको छ ।”

विज्ञप्तीमा गिरफ्तारीले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदाङ्गो पारेको भन्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली–प्रचण्डको पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नाङ्गो बनाएको बताएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर निन्दा एवं भत्सर्ना गर्दै तत्काल रिहाईका लागी अपील गर्दछौं । विनाशर्त तत्काल रिहा नगरे कडा सङ्घर्षमा उत्रिने चेतावनी दिदै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ओली–प्रचण्ड सरकार हुने जानकारी दिन चाहन्छौं ।” विज्ञप्तीमा उल्लेख छ । नेकपाले संगठन सुदृढीकरण तथा विस्तार अभियान संचालन गरिरहेको बेलामा सेक्रेटरी खड्कालाई तम्घासबाट गिरफ्तार गरेको बताइएको छ ।