काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता वामदेव गौतमले मुलुकको समृद्धि अभियानमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानमा नजुटे संघीय लोकतान्त्रिक गणतन्त्र गुम्नसक्ने तर्फ सचेत गराए ।हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा गौतमले विश्वविद्यालयहरुले पनि मुलुकको समृद्धिको लागि आवश्यक जनशक्तिको निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याए ।
मन्त्री अधिकारीको निधनबाट मुलुकले अपुरणीय क्षति व्यहोरेको उल्लेख गर्दै गौतमले उनका अधुरा सपना पूरा गर्ने काममा लाग्न पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आहृवान गरे ।कार्यक्रममा अनेरास्ववियुले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको छ । अनेस्ववियूकी अध्यक्ष नविना लामाले संगठनका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको नाममा अक्षयकोष खडा गर्न एक लाख आर्थिक सहायता दिने घोषणा गरिन् ।












