इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा परी एकजना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परी बिश्व खाद्य कार्यक्रम (डब्लूएफपी) इथियोपियामा कार्यरत नेपालकी एकता अधिकारीको मृत्यु भएको हो। उनी सप्लाई चेन अफिसरका रुपमा त्याँहा कार्यरत थिइन्। पारिवारिक स्रोतका अनुसार सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले एकताका बारेमा जानकारी गराइसकेको छ इथियोपियाबाट एक कार्यक्रममा भाग लिन केन्या जाने क्रममा आइतबार भएको इथियोपियन बिमान दुर्घटनामा परी उनको मृत्यु भएको हो। दुर्घटनामा अधिकारीसहित डब्लूएफपीका अन्य केही कर्मचारीको निधन भएको छ।
डब्लू एफपीका कार्यकारी निर्देशक डेभिड बेस्लीले ट्वीट गर्दै आफ्ना कर्मचारीको बिमान दुर्घटनामा परी निधन भएको पुष्टि गरेका छन्। उनले यो दुःखको घडीमा मृतकका परिवारलाई सबै किसिमको मानवीय सहयोग गरिने बताएका छन्। गोरखा घर भएकी अधिकारी २०७२ को गोरखा भूकम्प लगत्तै डब्लूएफपी नेपाल कार्यालयमा काम शुरु गरेकी थिइन्। परिवारका साथ उनी राजधानीको बालाजुमा बस्दै आएकी थिइन्। डब्लूएफपी नेपालबाट एक बर्षअघि उनी डब्लूएफपी केन्यामा गएकी थिइन्। नेपालमा रहँदा उनी आपत्कालीन राहत कार्यक्रममा संलग्न थिइन्।इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको १५७ यात्रीसहित नैराबी जाँदै गरेको इथोपियन एयरलाइन्सको बोइङ ७३७ विमान दुर्घटना हुँदा त्यहाँ सवार सबै १५७ जनाकै मृत्यु भएको छ। विमानमा ३३ देशका १ सय ४९ यात्री र ८ चालक दलका सदस्य सवार थिए।












