रुपन्देही/रुपन्देही सदरमुकाम भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको डिभिजन ‘ए’ को खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवल १०९ रनले विजयी भएको छ । वेष्टर्नले होराइजन क्रिकेट क्लब बुटवललाई पराजित गर्दै विजयी भएको छ ।टस जितेर पहिला ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाई १५९ रनको योगफल बनाएको थियो । जसमा राहुल कुमारले सर्वाधिक ९४ रन बनाए । यस्तै, प्रदीप कुमारले १५ र विक्रम सोगले १३ रन बनाए । बलिङमा होराइजनका राहुल प्रजापतिले ५, गणेश गौडेलले ३, गोविन्द कार्की र शुसान्त भारीले समान १÷१ विकेट लिए ।
प्रतिउत्तरमा १६० रनको लक्ष्य पछ्याएको होराइजन २९.४ ओभरमा सबै विकेट गुमाई जम्मा ५० रनमै समेटियो । उसका लागि विशाल भण्डारीले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा वेष्टर्नका विक्रम सोग र प्रदीप कुमारले समान ३÷३, विक्रम भुसालले २ तथा अभिषेक गौतमले १ विकेट लिए । राहुल कुमार खेलमा म्यान अफ दी म्याच घोषित भए । मंगलबार बुटवल ११ क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।










