रुपन्देही सुपर लिग लुम्बिनी खुकुरी फाइनलमा

प्रकाशित मिति:

भैरहवा, ६ चैत । गत वर्षको विजेता लुम्बिनी खुकुरी क्लब बेलहिया भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा खुकुरीले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४३ रनले पराजित गर्दै फाइनल पुगेको हो । ८ गते देवदह क्रिकेट युनिट देवदह र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीचको विजेतासँग अब खुकुरीले ९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । बुधबारको सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४२.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनको योगफल बनाएको थियो । जसमा शंकर रानाले सर्वाधिक ९४ रनको योगदान दिए । यस्तै, साहव आलमले ४४, संदीप रजालीले ३५ रन बनाए । बलिङमा वेस्टर्नका विक्रम सोवले ४, प्रदीप कुमार, विक्रम भुसाल र अभिषेक गौतमले समान २–२ विकेट लिए । २ सय ४ रनको लक्ष्य पछ्याएको वेस्टर्न ४८.५ ओभरमा अलआउट हुँदै १ सय ६० रन मात्रै बनाउन सक्यो । उसका लागि निर्मल थापाले ३४, महेश रानाले २७ र भुवन पाण्डेले १४ रन बनाए । बलिङमा खुकुरीका रमेश कुर्की, साहव आलम, अजयकुमार लोनिया र शंकर रानाले समान २–२ विकेट लिए ।

शंकर खेलमा म्यान अफ दी म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।