भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवलको आयोजनामा तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । बुटवल १३ सालघारीस्थित मैदानमा संचालित प्रतियोगिताको उद्घाटन खेलमा राधाकृष्ण एफसी बुटवल विजयी भएको छ । राधाकृष्णको जितका लागि पहिलो हाफको ४३ औं मिनेटमा आयुश शाहीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । खेलमा आयुश शाही नै म्यान अफ द म्याच घोषित भए । शनिबार लिस्नु युवा क्लब कोटिहवा र जनप्रिय स्पोर्टस् क्लब सैनामैनाबीच खेल हुने आयोजक क्लबका अध्यक्ष गोपी पुनले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन् ।
यसअघि प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले उद्घाटन् गरिन् । सो अवसरमा बोल्दै आचार्यले उपमहानगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण र वजेट विनियोजन गरेको बताइन् । उनले वडा नंं. १३ को जबई मैदानलाई उजिरसिंह स्टेडियम नामाकरण गरी प्रदेश सरकार र उपमहानगर मिलेर खेलमैदानको स्तरोन्नति गर्ने योजना रहेको बताइन् । एक वडा एक खेल मैदानको अवधारणा उपमहानगरले लिएको उल्लेख गर्दै बुटवललाई खेलकुदको हब बनाई खेल पर्यटनको विकास गर्न सकिने बताइन् । जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले रुपन्देही जिल्लाले खेलकुदमा राम्रो प्रगति गरेको चर्चा गर्दै आठौं राष्ट्रिय खेलकुदका ६ वटा खेल रुपन्देही हुनु गर्वको विष्य भएको बताए । बुटवल वडा नंंं १३ का अध्यक्ष नारायण पुनले खेलकुदले व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यलाई तन्दुरुस्त राख्ने बताए । उनले प्रतियोगितालाई वडा नंं. १३ ले २५ हजार रुपैयां सहयोग गरेको बताए । क्लबका अध्यक्ष गोपिराम पुनको अध्यक्षता,उपाध्यक्ष शिवकुमार थापाको स्वागत र यकु दर्लामीको संचालनमा कार्यक्रम भएको थियो ।












