बुटवल-बुटवल बेलबासको सालघारीमा जारी तेस्रो भूपू सैनिक कप फूटबल प्रतियोगिताको फाइनलमा फूलबारी गाइज बुटवल र भूपू सैनिक जबई स्पोर्टिङ क्लब भिड्ने भएका छन् । शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा लिस्नु युवा क्लब कोटिहवालाई २–० गोल अन्तरले पराजित गरेसंगै फूलबारी गाइजको आयोजकसंग फाइनल भिडन्त पक्का भएको हो ।
फूलबारीको जितमा शरद क्षेत्रीले २६ औ मिनेटमा र सबि गुरुङले ४९औं मिनेटमा गोल गरेका थिए । खेलमा फूलबारीकै यदु सिलवाल म्यान अफ द म्याच भएका छन् । भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको फाइनल खेल बैसाख १ गते दिउसो २ बजे शुरु हुने आयोजक क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए । प्रतियोगिताको विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन् ।












