रसुवा- उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गर्नुभयो । गोसाइँकुण्ड गाउँपालिका– १ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाट क्षमताको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराउनुभएको थियो ।












