सिद्धबाबा क्षेत्रमा निर्माण गर्ने सुरुङ मार्गको विस्तृत अध्ययन असारभित्रै सम्पन हुने
बुटवल -सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माण गर्ने भनिएको सुरुङ मार्गको विस्तृत अध्ययन यही असारभित्रै सम्पन हुने सडक विभागले जानकारी दिएको छ ।
आयोजनाको विस्तृत अध्ययनको काम स्वीट्जरल्यान्ड सरकारको सहयोगमा भइरहेको छ । बाह्रै महिना पहिरोको अति जोखिम क्षेत्र मानिने सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारले योजना अघि सारेको छ ।चालु वर्षको बजेटमा यो वर्ष विस्तृत अध्ययन सम्पन्न गर्ने सरकारले घोषणा गरेको थियो । यसअघि पूर्वसम्भाव्यता अध्ययन पनि स्वीस सरकारले नै गरिदिएको थियो ।
अर्थ मन्त्रालयले देशभरका ६ वटा सुरुङ मार्गको विस्तृत अध्ययन गरिदिन ३ वटा मित्र राष्ट्रलाई आग्रह गरेकोमा जापानले कोटेश्वरमा पूर्व सम्भाव्यता अध्ययन गरिरहेको छ भने अरु चारवटामा कसैले चासो देखाएका छैनन् ।सिद्धबाबा सुरुङको विस्तृत अध्ययन प्रतिवेदनको लागि अहिले सुरुङमार्गको डिजाइनको काम धमाधम भइरहेको छ ।सुरुङ मार्ग निर्माण भए पहिरोको कारण बर्षेनी दर्जनौको संख्यामा हुने अकाल मृत्यु रोकिने अपेक्षा गरिएको छ ।बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परि पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् ।












