सिद्धार्थनगरपालिका र शर्मा एण्ड कम्पनीले गरेको कार्य,पिस सडकमा मोटरसाइकल राख्दा स्ट्यानले पार्छ प्वाल

प्रकाशित मिति:

पुनहरि बेल्बासे,भैरहवा,-रुपन्देहीको सदरमुकाम भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित रविपथमा सहरी विकास आयोजना अन्तर्गत भवन डिभिजन कार्यालयको लगानीमा बनेको बाटो महिना दिन नहुँदै पार्किङको लागि राखिएका मोटरसाइकलले नै प्वाल पारेपछि स्थानीय आक्रोसित हुन थालेका छन् ।

बाटो निर्माण भएको १ महिना बित्न नपाउँदै पिस सडकमा प्वाल परेपछि शर्मा एण्ड कम्पनीले निर्माण गरेको बाटो कमिशनको भरमा कालोपत्रे गरेर देखाउन कमसल खालको निर्माण गरेको स्थानीयको बुझाइ छ ।देखाबटी रुपमा कालोपत्रे गर्ने, काम कसरी देखाउने भन्ने मात्रै खेलमा लागेर गुणस्तरहीन र कमसल खालको सामाग्री प्रयोग गरी बाटो निर्माण गरेका कारण महिना दिन नबित्दै बाटोमा प्वाल परेको स्थानीयबासी तथा युवा नेता लेखनाथ भट्टराई बताउँछन् । भट्टराई भन्छन् “शर्मा एण्ड कम्पनीले गरेको कार्यमा गुणस्तर छ वा छैन भन्ने कुरामा सिद्धार्थनगरपालिकाले चाँसो नदिएका कारण अहिले बाटो स्थिति यस्तो भएको हो । रविपथको बाटो पुनः गुणस्तरीय सामाग्री प्रयोग गरेर बाटो नबनाएमा स्थानीय कडा संघर्षमा उत्रने छन् ।”

बाटो निर्माण गर्ने क्रममा स्थानीयलाई उपभोक्ता समिति गठन गरे पनि शर्मा एण्ड कम्पनीले बाटो ग्राभेल तथा पिच गर्ने क्रममा समितिलाई बेवास्ता गरि ठेकेदारले मनोमानि ढङ्गबाट पिच गरेका कारण अहिले मोटरसाइकलको स्ट्यानले नै प्वाल पार्न थालेको स्थानीयबासी शंकर पन्थी बताउँछन् । पन्थी भन्छन् “हामीलाई निर्माण गर्ने क्रममा गुणस्तर छ छैन भन्ने कुरा थाहा हुँदैन, ठेकदारले समितिलाई पाखा लगायो । अहिले बाटोको स्थिति यस्तो छ ।”उता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजनजंग राणाले भने चर्को घामका कारण अलकत्र पग्लिएर बाटोमा प्वाल पारेको बताउँछन् ।

यस्तो लेख्छन् नगरपालिकाका वरिष्ठ ईन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ

सिद्धार्थनगरपालिकाले निर्माण गरेको बाटो महिना दिन नहुँदै मोटरसाइकलको स्ट्यानले पार्छ प्वाल भन्दै सामाजिक सञ्जाल (फेसबुक) मा राखेको फोटोमा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ ईन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले पिच तयार भएपछि सेट हुन समय लाग्छ. कसैले घर ढलाइ गरेर भोलि पल्ट फर्मा झिक्यो भने जति राम्रो सिमेन्ट राखेर बनाए पनि ढलाई खस्छ । त्यसैले सेट नहुन्जेल सम्म मोसा त्यसरी नराख्न सबैमा अनुरोध छ । कमिसन त सुबास रिजालले खल्तीमा राखेको देखेका रहेछन् ।

नगरपालिकाका इन्जिनियर यमलाल पाण्डेले समाजिक सञ्जाल (फेसबुक) मा यस्तो लेख्छन्

सुत्केरी महिलालाई बच्चा जन्मेको दिन बाट भारी बोकायो भने के हुन्छ,तपाई को प्रतिउत्तर यसैमा छ ।इजिनियरहरुले नै यस्तो लेखे पछि आम सर्वसाधारणले के बुझ्ने ? बाटोको डिजाइन गर्ने गुणस्तरीय सामान छ छैन भन्ने बारेमा कुनै दिन पनि अवलोकन नगरेका इन्जिनियरले एकाएक बाटोमा मोटरसाइकलको स्ट्यालेले प्वाल पार्नथाले पछि सुत्केरी महिला सँग बाटो दाँज्न थालेका छन् । यदि महिला सँग दाँज्ने हो भने गर्भावस्थामा किन स्याहार सुसार गरिएन ? किन चेक जाँच गरिएन ? सुत्केरी भएपछि किन संरक्षण गरिएन ? कति दिन सम्म स्याहार गर्ने हो, सम्बन्धित निकायले किन ध्यान दिएन ? आम सर्वसाधारणको चाँसोको विषय बनेको छ ।सिद्धार्थनगर नगरपालिका भित्र सहरी विकास आयोजना र एडिबिको लगानीमा नगर भरिनै बाटो निर्माण भइरहेका छन् । जसको निर्माण गर्ने जिम्मा अहिले शर्मा एण्ड कम्पनी लिमेटेडले पाएको छ । शर्मा एण्ड कम्पनीले निर्माण गरेका सडक तथा नालाहरुमा कमसल खालको गिट्टी, बालुवा, सिमेन्ट लगायतका निर्माण सामाग्री प्रयोग भएका समाचार दिनप्रदिन आइरहँदा समेत शर्मा एण्ड कम्पनी लिमिटेडले अटेर गरी काम अगाडि बढायो । एक भाग सिमेन्ट र १२ भाग बालुवा समेत प्रयोग गरे सिद्धार्थनगरपालिका भित्र नाला निर्माण भएका समाचार यस अघि पनि प्रशारण तथा प्रकाशन भएका थिए ।बाटो निर्माण भएको एक महिना नपुग्दै बाटोमा मोटरसाइकको स्ट्यानले नै प्वाल पारेको छ भन्ने बारेमा बुझ्न खोज्दा शर्मा एण्ड कम्पनी लिमिटेड भैरहवाका प्रमुख सम्पर्कमा आउन चाहेनन् ।