प्रधानमन्त्री ओलीले भने : ५ नंं प्रदेश बुटवल मात्रै हैन, राजधानी बुटवल तोक्न खांणको माग
सबलपोष्ट,बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. ५ भनेको बुटवल मात्रै नभएको बताएका छन् । बुटवलको जितगढीमा शनिबार आयोजित जितगढी विजयोत्सव दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदेश ५ बर्दियादेखि रोल्पा रुकुमसम्म फैलिएको बताए ।
प्रधानमन्त्रीले यसो भन्नुको पछाडि कांग्रेस नेता बालकृष्ण खांणलाई जवाफ फर्काएको हो । सो कार्यक्रममा नेता खांणले प्रदेश ५ को स्थायी राजधानी बुटवल तोक्न माग गरेका थिए । कांग्रेस नेतृत्वको यसअघिको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपनि अहिलेसम्म स्थायी राजधानीको टुंगो नलाग्दा बुटवलवासीलाई असहज भएको खांणले बताएका थिए । खांणले स्थायी राजधानी र नामाकरणको टुंगो छिटो लगाउन प्रदेशसभालाई आग्रह समेत गरे । बुद्धजन्मस्थल लुम्बिनी, जितगढी किल्ला,अन्तराष्टिय विमानस्थल, भारतसंगको बेलहिया नाका, रामापिथेकसको बंगारा भेटिएको ऐतिहासिक स्थल समेत भएकाले बुटवल नै राजधानीका लागि उपयुक्त भएको खांणको तर्क थियो । तर प्रधानमन्त्री ओलीले खांणको आग्रहमा पानी खन्याइदिए । उक्त कार्यक्रममा राजधानीबारे नेकपा महासचिव विष्णु पौडेल भने चुइक्क बोलेनन् ।
सायद आफ्नै पार्टीका अधयक्ष एवं प्रधानमन्त्री उपस्थित भएकाले उनले राजधानीबारे बोल्ने हिम्मत नगरेको धेरैको बुझाई छ । पौडेलले यस अघि प्रदेशको राजधानी बुटवलबाट दाया बांया गर्न नपाइने भाषण ठोक्दै आएका थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले कतिपयले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको टिप्पणी गरे । मुलुक विकास र सुशासनमा जुटेका बेला कोही कोही केही काम नपाएर उपद्रो मच्चाउन थालेको प्रधानमन्त्रीले टिप्पणी गरे । समारोहमा रक्षामन्त्री इश्वर पोखरेलले जितगढी जस्तै नेपालले युद्ध जितेका स्थानहरुको संरक्षण र विकास गर्ने अभियानमा सरकार रहेको र जितगढीबाट शुरु भएको बताए । कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतले बोलेका थिए । सो कार्यक्रममा जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ भने कर्णेल उजिरसिंहको पूर्ण कदको शालीक समेत स्थापना गरिएको छ । बुटवल वडा नंं १ स्थित जितगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ५५ फिट अग्लो टावरमा ९ फिट उचाईको झण्डाको झण्डोत्तलन र ९ फिट उचाईकै उजिरसिंहको तामाको पूर्ण कदको शालिकको अनावरण गरेका छन् । जितगढीमा उपमहानगरले ४४ लाख रुपैयां खर्चेर उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखेको हो ।












