बैसाख,बुटवल । नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको एकल, जोडी र टिम ईभेन्टमा स्वर्ण जित्दै जारी राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी पनि बनेका छन् । श्रेष्ठले तेक्वान्दो खेल्न सुरु गरेको चार बर्ष मात्रै भएको छ । यस बिच उनले तेक्वान्दोका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाईसकेका भएता पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा भने पहिलो सहभागिता हो । २०६७ सालमा नेपाल प्रहरीमा प्रबेश गरेका उनि जवान पदमा छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगर पालिका डिभर्ना घर भएका २८ बर्षिय श्रेष्ठले २०१८को अगस्त सेप्टेम्बरमा ईण्डोनेशियामा सम्पन्न एसियाली खेलमा तेक्वान्दोको पुम्सेमा सहभागीता जनाईसकेका छन् । श्रेष्ठको अबको लक्ष्य भनेको काठमाण्डौमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा मुलुकलाई स्वर्ण पदक दिलाउनु रहेको बताएका छन् ।
पुम्सेमा प्रहरीलाई ४ स्वर्ण
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दोको पुम्से बिधामा पुलिस क्लबले ४ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ । जसमा पुरुष एकलमा कमल श्रेष्ठ, महिला एकलमा पार्वती गुरुंग, जोडीमा कमल र पार्वतीले तथा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु सम्मिलित खेलाडीले टिमतर्फ स्वर्ण जितेका हुन् भने महिला तर्फको टिम ईभेन्टमा पार्वती गुरुंग, मिरा राना र निर्मला बिकको समहुले रजत पदक जितेका छन् । पुम्सेको महिला तर्फको टिम इभेन्टमा प्रदेश १ले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरींग तर्फका खेलहरु बाकी रहेका छन् । शुक्रबार महिला र पुरुष तर्फ २ तौल समुहमा भएको खेलमा २ स्वर्ण पदक टुंगो लागेको थियो । जसमापुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमाल र महिला तर्फको ५३ केजि तलको तौल समुहमा पुलिस क्लबकी निमा गुरुंगले स्वर्ण पदक जितेका थिए ।












