आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : नेपाल आर्मी च्याम्पियन बन्न सफल

प्रकाशित मिति:

वैशाख – नेपाल आर्मी १ सय ४० स्वर्ण पदक जित्दै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । आर्मीका खेलाडीले ८१ रजत र ६७ कास्यसहित २ सय ८८ पदक जितेका हुन् । १ हजार १ सय ३९ पदकका लागि भएको प्रतियोगितामा विभागिय टोलीको वर्चश्व रह्यो । नेपाल पुलिस क्लब ६२ स्वर्णसहित तालिकाको दोश्रो स्थानमा रहन सफल भयो ।

पुलिसले ४९ रजत र ४६ कास्य सहित १ सय ५७ पदक हात पारेका छन् । एपिएफले ५३ स्वर्ण सहित २ सय ३ पदक जित्दै तालिकाको तेश्रो स्थानमा रह्यो । ७ प्रदेश, ३ विभागीय र गैरआवासिय नेपाली संघका खेलाडी सहभागी प्रतियोगितामा प्रदेश ३ ले २२ स्वर्णसहित १ सय २२ पदक जितेको छ । गण्डकी प्रदेशले १२ स्वर्णसहित ७७ पदक, प्रदेश ५ले ११ स्वर्णसहित ८५ पदनक, प्रदेश १ ले ९ स्वर्ण सहित ८८ पदक, सुदुरपश्चिमले ८ स्वर्ण सहित ५४ पदक, प्रदेश २ ले ६ स्वर्ण सहित ३३ पदक, गैरआवासीय नेपाली सघंको टोलीले ६ स्वर्ण सहित १३ पदक र कर्णाली प्रदेशले ३ स्वर्ण सहित १३ पदक जितेका छन् ।

यससंगै, राष्ट्रिय खेलकुद प्रतियोगिताको आठौँ संस्करण  सकिएको छ । प्रदेश ५ का विभिन्न ५ जिल्लासहित ललितपुर र पोखरामा समेत विभिन्न कार्यक्रमहरु आयोजना भएका थिए । औपचारिक उद्घाटन बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएपनि खेलहरु भने चैत २७ गतेबाट सुरु भएका थिए । नेपालगञ्ज रंगशालामा एक बिशेष समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय खेलकुदको औपचारिक समापन गर्नुभयो । समापन समारोहमा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको छ ।