वैशाख १२,मन्थली– बिनाशकारी भुकम्प गएको ४ वर्षमा रामेछापमा २८ हजार निजि आवास निर्माण भएका छन् । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार रामेछापका एम आई एस सुरेन्द्र यादवका अनुसार सम्झौता गरेका जिल्लाका ४६ हजार ६ सय ७८ लाभग्राहीमध्ये २८ हजार ४ सय ८ लाभग्राहीहरुले मात्रै निजिआवास निर्माण गरेका हुन ।
जिल्लाका कुल लाभग्राहीमध्ये अन्तिम किस्ता लिइसकेका ४ हजार ३ सय ६२ परिवारको पनि घर निर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो किस्ता लिईसकेका ८ हजार बढीले तेस्रो किस्ता लिन बाँकी रहेको कार्यालयले जनाएको छ । उनीहरु मध्ये कतिपय लाभग्राहीहरुले घरको जग उठाएर महिनौंदेखि निर्माण कार्य अगाडि बढाएका छैनन् । कुल लाभग्राहीमध्ये ४३ घरपरिवारले भने पहिलो किस्ताको ५० हजार पनि बुझेका छैनन् ।
घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएका मध्ये ५ हजार ५ सय लाभग्राही भने सम्पर्कमा आएका छैनन् । उनीहरुले घर निर्माणको काम नै सुरु नगरेको जनाईएको छ । यस्तै भवन निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ लिएका १३ जना लाभग्राहीले भने घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेका पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार रामेछापले जनाएको छ ।












