नेपाली फिल्म किन्न थाल्यो यूएइको एयरलाइन्सले

प्रकाशित मिति:

काठमाडौँ -विभिन्न एयरलाइन्सबाट विदेशी मुलुक जाँदा नेपालीहरुले आफ्नो मुलुकमा बनेको फिल्म हेर्न पाउँदैनन् । अरु देशमा निर्माण भएका विभिन्न भाषाका फिल्म हेरेर मनोरञ्जन लिनुपर्ने बाध्यता छ । तर, अब नेपाल वा अन्य देशबाट युएइ उड्दा वा फर्किँदा नेपाली फिल्म हेर्न पाइने भएको छ । यूएइको एक एयरलाइन्सले नेपाली फिल्म खरिद गर्न थालेको छ ।

नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्ससँग नेपाली फिल्म प्रदर्शन गर्ने गरि सहमती गरेको छ । यसको सुरुवात अभिनेता विपिन कार्की स्टारर फिल्म ‘हरी’ बाट हुँदैछ । नेपाली फिल्म प्रदर्शन गर्ने एयरलाइन्सको नाम भने खुलाइएको छैन । सन् २०१९ को मे महिनाबाट ‘हरी’ फिल्म उपलब्ध हुनेछ । नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी नेपालफ्लिक्सले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ । अब अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समा पनि नेपाली फिल्म देखाउने क्रमको विकास भए नेपाली फिल्मका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउने छन् ।

संसारभर नेपाली फिल्मको प्रचारमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा फिल्मकर्मीहरुको छ । विदेशी एयरलाइन्सले नेपाली फिल्म प्रदर्शनका लागि चासो देखाउनु खुसीको कुरा रहेको फिल्म क्षेत्रका जानकारहरु बताउँछन् । नेपालफ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले अरु फिल्म प्रदर्शन गर्नका लागि अन्य मेकरसँग पनि कुराकानी भइरहेको बताएका छन् ।