कांग्रेसले आफ्नै साथी फसाउँछ, एमालेले असंख्य अपराध भएपनि जोगाउँछ – गुप्ता

प्रकाशित मिति:

काठमाडौं – डा बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा मन्त्री बहाल रहँदै भ्रष्टाचारको मुद्दामा जेल परेका पूर्वमन्त्री जेपी गुप्ता एकैपटक नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि खनिएका छन् । बालुवाटार प्रकरणमा महासचिव विष्णु पौडेलको बचाउमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएलगत्तै गुप्ताले ट्वीट मार्फत काँग्रेस र नेकपाप्रति विष ओकलेका हुन् ।

काँग्रेस छाडेर फोरम प्रवेश गरेका गुप्ता भट्टराईको कार्याकालमा बहालवाला मन्त्री रहँदै डेढ वर्ष जेल परेका थिए । तर उनले आप्mनो पूर्व पार्टी काँग्रेसमाथि रीस पोखेका हुन् । उनले भनेका छन्, “पार्टीमा लाग्ने हो भने कहिल्यै काँग्रेसमा नलाग्नू जसले आफ्नै निर्दोष साथीलाई फसाउँछ” । काँग्रेसमै रहँदामा भ्रष्टाचार काण्डमा मुछिएका थिए, गुप्ता । त्यहीबेला पार्टीले साथ नदिएको रीस उनले अहिले ओकलेका छन् । प्रधानमन्त्रीले बालुवाटर प्रकरणमा महासचिवको बचाऊ गरेको विषयमा पनि उनले कटाक्ष गर्न बाँकी राखेका छैनन् । उनले भनेका छन् “पार्टीमा लाग्ने हो भने एमालेमा लाग्नू जसले असंख्य अपराजधका बावजुद पनि जोगाउँछ” । बालुवाटार प्रकरणमा प्रधानमन्त्रीले बोलेपछि अब कुनै छानबिनको जरुरत नरहेको पनि उनको टिप्पणी छ ।

काँग्रेसमाथि गुप्ताको आरोप र केही तथ्य  – २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार बनेका गुप्ता २०५४ सालमा सञ्चार राज्यमन्त्री, ५५ सालमा सञ्चार मन्त्री, ५६ सालमा कृषि मन्त्री र ०५८ सालमा फेरि सूचना मन्त्री बनेका थिए, जो उनी काँग्रेस भएकै कारण संभव थियो त्यो बेला । उनीमाथि २०५९ मा भ्रष्टाचारको अभियोग लाग्यो ।  २०६३ को मधेस आन्दोलनपछि उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा लागे, विजय गच्छदारसँगै । विजय गच्छदार बाहिरिए । पछि गुप्ताले पनि फोरम टुक्राएर फोरम गणतान्त्रिक बनाएर बाबुराम भट्टराईको सरकारमा सूचना मन्त्री बने ।

पदमै रहेको बेला बि.स. २०६८ फागुन ९ गते न्यायधीशद्वय सुशिला कार्की र तर्कराज भट्टको संयुक्त ईजलाशले गुप्तालाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै, डेढ वर्ष कैद, ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश दियो । फैसलापछि उनले आत्मसमर्पण गरे र २५ प्रतिशत सजाय माफी पाउँदै जेल गए । हाल उनी राष्ट्रिय तराई मधेश अभियानका संयोजक छन्  ® हाम्राकुरा