नगरपालिकाको सवै सूचना अव मोवाईल एप मै

प्रकाशित मिति:

सोम दियाली, लालबन्दी नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने उदेश्यका साथ जिल्लाकै सवैभन्दा ठुलो नगरपालिका लालबन्दीले नगरपालिकाको मोवाईल एप्स सार्वजनिक गरेको छ । “डिजिटल नेपाल, विकास र समृद्धिको आधार” भन्ने राष्ट्रिय नाराका साथ सर्लाही सहित देशभर मनाईएको सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा लालबन्दी नगरपालिकाले नगरपालिकाकै सभाहलमा एक कार्यक्रमको आयोजना गरि आफ्नो मोबाईल एप सार्वजनिक गरेको हो ।

नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा साथै नगरपालिकाको नयाँ सूचना तथा जानकारीहरु जनताहरुले घरमै बसी आफ्नो मोबाईलबाटै प्राप्त गर्न सकुन भन्ने हेतुले सूचना तथा संचार प्रविधी मन्त्रालयले निःशुल्क उपलब्ध गराएको उक्त मोबाईल एप जुनसुकै एन्ड्रोइड मोबाईलको प्ले स्टोरबाट निशुल्क डाउनलोड गरी हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदर्शन श्रेष्ठले जानकारी दिनु भयो । उहाँले कार्यक्रममा ई–गभरमेन्स र साईबर क्राईमका बारेमा पनि प्रस्तुतिकरण गर्नु भएको थियो ।

नगरपालिकाका जनप्रतिनीधीहरु, कर्मचारीहरु, सूचना प्रविधीका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीहरु र नगरवासीहरुको उपस्थितीमा संचालन गरिएको कार्यक्रममा नगर प्रमुख मान बहादुर खड्काले अहिलेको समयमा सूचना प्रविधि विनाको समाज कल्पना गर्न नसकिने र नगरपालिकाले आफ्नो नगरलाई छिट्टै प्रविधि मैत्रि नगर बनाउने अभियानमा लागेको धारणा व्यक्त गर्नु भयो । प्रदेश नंं २ क्यानका महासचिव सरोजबावु न्यौपानेले मोबाईल एप नगरवासीहरुको लागी महत्वपुर्ण रहेको र नगरपालिकाको विभिन्न गतिबिधीहरु हातैबाट जानकारी प्राप्त गर्न सकिने हुनाले जनताहरुलाई यसका बारेमा सूसुचित गर्न आवश्यक रहेको भनाई व्यक्त गर्नु भयो । नगरपालिकाले यस अघिनै नगरको सम्पुर्ण गतिविधी, सूचना तथा जानकारीहरु आफ्नो वेभसाईट, फेसबुक फ्यान पेज, ट्विटर ह्याण्डल मार्फत पनि सार्वजनिक गर्दै आईरहेको कार्यालयका कम्प्युटर अपरेटर कोमलहरी गौतमले जानकारी दिनुभयो ।