काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनाव लडेको निर्वाचन क्षेत्रमा योजना पार्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले योजना आयोगलाई लेखेको पत्र सार्वजनिक भएपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन् ।
उनले ट्विटरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले योजना आयोगका उपाध्यक्षलाई लेखेको पत्र राख्दै प्रश्न गरेका छन्, ‘‘सम्माननिय प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’’ प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी आर्थिक वर्ष ०७६–०७७ मा समावेश गरिदिन सांसद सम्पर्क कार्यालयले सिफारिस गरिदिन माग गरेकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखेर समावेश गरिनुपर्ने पत्रमा निर्देशन दिइएको छ ।












