न्युजील्यान्डकी प्रधानमन्त्रीले प्रेमीसँग विवाह गर्ने, अघिल्लो वर्ष जन्माएकी थिइन् छोरी

प्रकाशित मिति:

बुटवल – न्युजील्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्ने भएकी छन् । यो प्रेमी जोडीले ईस्टरको सप्ताहान्तमा टीकाटालो गरेका थिए । शुक्रवार पाइक रिभर माइनमा भएको एक कार्यक्रममा आर्डर्नले हीराको औंठी लगाएको देखिएको थियो ।

आर्डर्न र गेफोर्डको भेट पाँच वर्षअघि भएको थियो । आर्डर्नको अकल्यान्ड निर्वाचन क्षेत्रमा उठेको एउटा विषयमा चर्चा गर्न गेफोर्डले त्यतिखेर उनलाई भेटेका थिए । गत वर्षको जुन महिनामा यो जोडीले छोरी पाएको थियो र नाम नेभे ते आरोहा रािखएको थियो । प्रधानमन्त्री छँदै सन्तान जन्माउने बेनजीर भुट्टोपछिको दोस्रो महिला उनी बनेकी छन् ।

गेफोर्डलाई न्युजील्यान्डको प्रथम पुरुष भनिन्छ । उनले टीभीको एउटा कार्यक्रम चलाउन छोडेर छोरीको स्याहार गरिरहेका छन् । राजनीतिक टिप्पणीकार ब्राइस एडवार्ड्सले सन् २०१८ मा आर्डर्नले सन्तान जन्माउँदा उनको लोकप्रियता चुलिन सहयोग पुगेको र सन् २०२० मा हुने आमनिर्वाचनअघिको विवाहले थप सहयोग पुग्ने बताएका छन् । सामाजिक सञ्जालमा न्युजील्यान्डवासीहरूले जोडीलाई बधाई दिएका छन् । विपक्षी दलका नेता साइमन ब्रिजेज र बेलायतकी उच्चायुक्त लाउरा क्लार्कले पनि बधाई दिएका छन् । – द गार्डियनबाट