बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५, क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । क्युडीकी ५५ वर्षीया छञ्चकला बुढाको भाइरल ज्वरोका कारण मृत्यु भएको हो
हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले जानकारी दिए ।
रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।












