दलितमाथि हुने विभेदको कथामा ‘भूइँफूल’ बन्ने

प्रकाशित मिति:

काठमाडौँ -द्वन्द्वकालमा विस्थापित भएर मधेशमा बसोबास गर्न आइपुगेका विभिन्न समुदाय विशेषगरी दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको विभेदमाथिको कथामा आधारित भएर फिल्म ‘भूइँफूल’ निर्माण हुने भएको छ । नेत्र छन्त्यालको निर्देशनमा बन्ने फिल्मको आइतवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ ।

सदाबहार अभिनेत्री करिश्मा मानन्धरले फिल्मको मुहूर्त गरेकी हुन् । सरिता राई प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन यही बैशाख २५ गतेबाट सुरु हुँदैछ । काठमाडौं, धरान र झापामा छायांकन हुने फिल्मलाई रामेश्वर हुमागाइँले खिच्नेछन् । विनय पौडेलले निर्देशक नेत्रलाई निर्देशनमा सघाउनेछन् । फिल्मको कथा पनि निर्देशक स्वयंको हो ।

उर्मिला वान्तवा राईको लगानीमा निर्माण हुने फिल्ममा गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दनौल, चन्दा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता समेत रहेका गोविन्दले नै फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् । फिल्मका गीतमा रमेश खड्काले संगीत भर्ने जिम्मेवारी पाएका छन् । फिल्ममा गणेश सुवेदीले लेखेका गीतहरु समावेश गरिएको छ । ‘भूइँफूल’ बाट अभिनय यात्रा सुरु गर्न लागेका गोविन्दले आफूलाई दर्शकले अभिनेताको रुपमा स्वीकार गर्नेमा विश्वस्त देखिए । नव(अभिनेत्री तुलसा फिल्मलाई लिएर उत्साहित देखिइन् । निर्देशक नेत्र फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् ।