संसदमा बोले विष्णु पौडेल, ‘बालुवाटारको जग्गा हडप्ने दोषीलाई कडा कारबाही हुनुपर्छ’
काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले आफू दोषी भेटिए कारबाही भोग्न तयार रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभामा भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसदसमेत रहेका पौडेलले उक्त प्रकरणको गम्भीरतापूर्वक छानबिन गर्न माग गरे।
‘केही समययता मेरो र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईको नाम जोडिएका समाचार प्रकाशित भएका छन्। यस विषयमा मैले प्रेस वक्तत्वयमार्फत् सत्यतथ्य सार्वजनिक गरिसकेको छु,’ पौडेलले भने, ‘गैरकानुनी तरिकाले व्यक्तिका नाममा दर्ता भएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउने निर्णयको हार्दिकतापूर्वक स्वागत गर्दछु।’
उनले ललिता निवास प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न माग गरे। ‘दोषीलाई कडा कानुनी कारबाही होस् भनी माग गर्दछु,’ पौडेलले भने, ‘र म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट गर्दछु।’












